काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन्। शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो ।
कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ ।
यसैबीच टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।आजै बोहराले चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्।
२०७२ भदौमा कैलालीको टीकापुर घटनामा अदालतमा दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्। चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भएपनि शीतल निवासको निर्णयसँगै तत्कालका लागि यो सम्भावना सकिएको छ ।