शरणार्थी प्रकरणः पक्राउ परेकालाई थुनामा राख्न आज फेरी म्याद थपिदै

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार पुनः म्याद थप गरिने भएको छ।

मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्नको लागि मंगलबार अदालतबाट अनुमति लिइनेछ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन पूर्व उपप्रधानमन्त्रीदेखि, मन्त्री,सचिव,सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि संगठित रूपमा प्रक्रिया सुरु गरेको थियो।

करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।

कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसहितको आठजानाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउनेछ।यो प्रकरणमा पक्राउ परेका १६ जना र फरार रहेका १७ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।