काठमाण्डौ। नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज थप २ जना पक्राउ परेका छन्। आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले दुई दिनको म्याद दिएको छ।
रिजाललाई झापाबाट काठमाण्डौ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको थियो।
यस प्रकरणमा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ। आज पक्राउ परेका दुईसहित यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ।
रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो। विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए। त्यही आधारमा सरकारले कार्यदल गठन गरेको थियो।
यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ। उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ। त्यो सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाण,निलम्बित सचिव(पूर्व गृहसचिव) टेकनारायण पाण्डे,पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन्।
यस प्रकरणमा अब प्रहरीले छ दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने छ। जिल्ला प्रहरी परिसर काठमाण्डौले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ।