रास्वपा सरकारमा नजाने र समर्थनसमेत फिर्ता,५ महिनामा ३ पटक विश्वासको मत लिनुपरेपछी त्रसित प्रचण्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ। रास्वपाको शुक्रबार बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा नजाने र सरकारलाई दिँएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन पहल गर्दै आएपनि रास्वपाले सरकारमा नरहेर जनतामा जाने निर्णय गरेको हो। नागरिकता विवादमा मुछिएर सांसद पद गएसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने हालसम्म कायमै रहेको थियो ।

समर्थन फिर्ता लिएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत यथावत छ । २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसद भए सरकार बनाउन पुग्छ। रास्वपा बाहेकका दलका १५८ सांसदको सरकारलाई समर्थन कायम रहने देखिन्छ ।

यस्तै उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउने बारे सत्ता गठबन्धनमा छलफल भएको थियो । रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए ।

तर, पार्टीभित्रको तीव्र दबाबपछि अन्ततः रास्वपाले सरकारमा नजाने निर्णय गरेको नेताहरुको भनाइ छ । अब रास्वपाले देशभर संगठन निर्माणमा ध्यान दिने भएको छ । रास्वपाले जनताको मुद्दालाई प्राथमिकता दिँदै देशव्यापी संगठन निर्माणमा होमिने घोषणा गरेको हो ।