रास्वपामा ३६ विभाग गठन: अर्थमा स्वर्णिम, अरू कसलाई कुन जिम्मेवारी ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभागहरू गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ वटा विषयगत विभाग गठन गरेको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार भरखरै सम्पन्न उपनिर्वाचनबाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ। बैठकले नीति तथा विचार विभाग र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी महामन्त्री डा. मुकुल ढकाललाई दिएको छ।

यस्तै, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, विपीन आचार्यलाई अभियान तथा प्रचार प्रसार विभाग, शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डीपी अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुसुम महर्जनलाई मानवीय प्रबर्द्धन विभाग, दीपक बोहोरालाई जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसैगरी कानुन तथा न्याय विभागमा सोविता गौतम, मानव अधिकार विभाग प्रमुखमा सन्तोष परियार, युवा तथा खेलकुदका साथै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन् ।सांसद हरि ढकालले भ्रष्टचार निवारण तथा सुशासन प्रबर्द्धन विभागको जिम्मेवारी पाएका छन् ।