काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्। आज प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले भने,“रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।”रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उनले यसैमा उक्त पार्टीका सभापति रवि लामिछाने अडिन्छन् भन्ने आफूलाई नलागेको बताए। सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताए।
रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे। उनले सरकार पाँच वर्ष चल्ने जिकिर पनि गरे। सो क्रममा उनले महावीर पुन आफूसँग सल्लाह नै गरेर माइतीघरमा धर्नामा बसेको बताए। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।
‘बस्नोस् त भन्न मिल्दैन, बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ’ भनेर आफूले भनेको उनले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले थपे, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो। मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु।”पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्ट्याउन अनुरोध गरेको पनि उनले बताए।
पूर्वलडाकुलाई रकम दिने विषय वि.सं.२०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए। तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र नेपाली कांग्रेस एवं नेकपा (एमाले)को सरकार रहँदा छलफल भएर टुंगिएको विषय भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको उनले बताए।
आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले बताए।उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारूढ दल लागेको भन्ने कुरा असत्य भएको बताए। सरकारले कृषि उत्पादन, रोजगारी र युवालक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि उनले बताए। सो अवसरमा उनले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए ।