न्यूयोर्क। विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलोपटक सफल आरोहण गर्ने नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा अमेरिकाको प्रख्यात सडकको नामाकरण गरिने भएको छ ।
नेपाल र नेपाली समुदायको पहिचानको सम्मान गर्दै न्यूयोर्कको एल्म्हर्स्ट स्थित ब्रोडवे र उडसाईड एभेन्यू विच ७५ स्ट्रीटको नाम शेर्पाको नाममा समर्पित गरिने भएको हो। सन् २०२१ मा न्यूयोर्क शहरको सिटी काउन्सिलले विधेयक पारित गरी उक्त नामाकरण गर्ने प्रकृया थालेको थियो ।
प्रकृयाले सन् २०२३ मा मूर्तरूप पाउने भएपछी सिँगो विश्व भरी छरिएर रहेका नेपालीहरुमा खुसियाली छाएको छ। आजभन्दा सत्तरी वर्ष अघि सन् १९५३ को मे २९ तारिखमा नेपाली आरोही तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीले संयुक्तरूपमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक सफल आरोहण गरेका थिए।
हिमाल आरोहणका लागि विश्व प्रसिद्ध र अदम्य साहसका धनी हजारौं पर्वतारोहीहरूको समर्पण, बलिदानी र मार्गदर्शनले सगरमाथा आरोहणको गौरवशाली सत्तरी वर्षको ईतिहासमा हालसम्म विश्वका ६ हजार ३३८ आरोहीहरूले सगरमाथाको आरोहण गर्न सफल भएका छन्।
सुपरिचित नेपाली सन्तति प्रथम सगरमाथा आरोही तेन्जिंग नोर्गे शेर्पाको नाममा न्यू योर्क शहरमा हुने सडक नामाकरणको सुखद र ऐतिहासिक निर्णयको स्वागत गर्दै न्यू योर्क शहर सिटी काउन्सिल प्रति नेपाली समुदायहरुले खुसिसहित आभार व्यक्त गरेका छन् ।
अमेरिकामा रहेका नेपालिहरुका विभिन्न संघसस्थाहरुले सडक नामाकरणको सन्दर्भ पारेर भव्य समारोह समेत गर्ने भएका छन् ।