कुँवर नेतृत्वको एनआरएनएले गठन गर्यो १२ बुँदे शर्त पुरा गर्न वार्ता समिती

काठमाडौं, गैर आवासीय नेपाली संघ एनआरएनएले वार्ताको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। बिनोद कुँवर नेतृत्वको संघले एक बिज्ञप्ति जारी गर्दै वार्ताको लागि जानकी गुरुङको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको जनाएको हो ।

पाँच सदस्यीय कार्यदलमा सुरेन्द्र सिग्देल, कृष्ण केसी, प्रकास धमला सदस्य र सल्लाहकारमा धर्म केसी रहेका छन। टोलीलाई वार्ताको लागि मे ५ तारिखसम्मको समय दिइएको अध्यक्ष विनोद कुँवरले बताए।

वार्ताको लागि १२ बुँदे शर्त पनि अगाडि सारिएको जनाउदै कुँवरले यिनै शर्तमा टेकेर दुवै तर्फबाट १० औं महाधिवेशनको अस्तित्वलाई समान रुपमा स्वीकार गर्नुपर्ने र त्यसबाट चयन भएका दुवै पक्षका नेतृत्व र बाँकि पदमा गरिएका नियुक्तीहरु सबैलाई सम्मानजनक रुपमा मान्यता दिनुपर्ने अडान राखिएको बताए।

आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनका लागि सम्पूर्ण प्रतिनिधिहरु काठमाडौंमा उपस्थित भई भौतीक रुपमा हुनुपर्ने, दुवै पक्षबाट तयार पारिएका र पारित भएका दस्तावेजहरु खारेज गर्नुपर्ने लगायतका शर्तहरु रहेका छन। उता परराष्ट्र मन्त्रालयबाट मान्यता पाएको गैर आवासीय नेपाली संघले पनि उपाध्यक्ष डिवी क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ।

संघको आलोपालो सहित तीन जना अध्यक्ष रहेको कमिटिमा अहिले डा। बद्री केसी कार्यकारी अध्यक्षको जिम्मेवारीमा रहेका छन ।बार्ता समितिका दुबै संयोजक क्षेत्री र गुरुङले आफुहरुले कार्य शुरु गरिसकेको बताए ।