काठमाडौं। यतिबेला सर्वत्र यौटा लोकदोहोरी गितले चर्चा पाईरहेको छ। चर्चा मात्रै हैन टिकाटिप्पणी, आलोचना, प्रशंसा, प्रोत्साहन र खबरदारी सबै पाएको छ। त्यो गित हो केहि दिन पहिले बजारमा आएको गित सकम्बरी। लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतको यो नयाँ गीत सकम्बरीको विवाद अहिले सतहमै छताछुल्ल छ।
युट्युबमा रिलिज भएकै दिनदेखि ट्रेन्डिङ वान मा बसेको यो गित हामिले यो सामाग्री तयार पार्दा ५ औं दिनसम्म ट्रेन्डिङ वानमै यथावत छ। यो गीत युटुवमा मात्रै नभै पछिल्लो समय लोकप्रिय बनेको टिकटकमा पनि उस्तै चर्चित छ, यसका अंशमा धेरैले टिकटक भिडियो बनाएका छन्।अन्य सामाजिक सञ्जालमा पनि यसले दबदवा जमाएको छ।
खास गरेर भाइरल भइरहेको गीतका शब्दहरू स्त्रीद्वेषी भएको भन्दै आलोचना सुरू भएको हो। सामाजिक सञ्जालमा गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको भन्दै तिब्र आलोचना भएको छ। गीतमा सकम्बरी नामकी पात्र छन्। जसको नाम गाउँमा हुँदा फूलमाया हुन्छ। मुलःत सपुतले सकम्बरी पात्र पारिजातको चर्चित उपन्यास शिरिषको फूलबाट लिएको देखिन्छ। पारिजातकी पात्र सकम्बरीलाई सपुतले गरेको चित्रण पनि सुहाउँदो नरहेको भन्दै पनि आलोचना भएको छ।
यसअघि सपुतको पीर शीर्षकको गीतको भिडिओको दृश्य विवादमा परेको थियो। उक्त गीतको भिडिओमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए। व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए।
गीतमा महिला पात्रको प्रस्तुतिलाई लिएर फेरि अहिले विवाद भएपनि केहि समय अगाडी कार्यक्रमकै लागि अमेरिका पुगेका सर्जक तथा गायक मोडल उनै सपुतले भने खासै प्रतिक्रिया जनाएका छैनन्। उनिसँग व्यक्तिगत कुरा गर्दा उनले मान्छेहरूले आँफुलाई विवादको पर्यायजस्तो रूपमा लिन थालिसकेको तर विचारसहितको सिर्जना गर्दा विवादरहित भने हुन नसकिने रहेछ भन्ने प्रतिक्रिया दिएका छन्।
उनि भन्छन्, मानिसहरूले म एउटा, सर्जक प्रकाश सपुतलाई प्रश्न गरिरहेका छन् तर त्यो प्रश्न चाहिँ त्यो पात्रका लागि सही थियो कि थिएन, त्यो पात्रको चरित्र निर्माण ठिक भयो कि भएन भन्नेतर्फ मानिसहरूले सोचेकै छैनन्।बाहिरबाहिर मात्र सतही टिप्पणी गरिरहेका छन्। फेरि एकपटक भिडिओ राम्रोसँग हेर्नुहोस्, सबै पात्रहरूलाई केलाउनुहोस् र पात्रको चरित्र बुझ्नुहोस्, उसको चेतना बुझ्नुहोस्। उनको भनाई छ।
उनले यसबारेमा औपचारीक धारणा भने सार्वजनिक गरेका छैनन् ।तर समग्रमा १ सिक्काका २ पाटा भएजस्तै समाजको यथार्थ चित्र बाहिर ल्याउदा आलोचना हुनु स्वभाविक हो। यद्यपी समाजमा भैरहेका विकृति न्युनिकरण गर्नमा आफ्नो क्षेत्रबाट सबैले पहलकदमि चाल्न आवश्यक छ भने सामाजिक चित्र प्रस्तुतिकरणलाई प्रोत्साहन गर्न पनि उत्तिकै जरुरी छ।