उद्योग वाणिज्य महासङ्घको एशोसिएट उपाध्यक्षमा ज्योत्सना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ। उहाँ रामचन्द्र सङ्घाई प्यानलबाट विजयी हुनुभएको हो।

श्रेष्ठले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्नुभयो । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ र आचार्यले ७ सय ८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

उहाँले महिला नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताउनु भयो । उहाँले जित्न कठिन भए पनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गर्नुभयो । उहाँले आफूलाई आउँदो दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

महासङ्घ एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताउनु भयो । उहाँले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनुभएको छ ।जिल्ला नगर उपाध्यक्षमा विजयी वैघले ४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ र अरुणराज सुमार्गीले ३७ मत ल्याउनुभयो । वैद्य रामचन्द्र सङ्घाई पक्षका हुनुहुन्छ ।

त्यस्तै, वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

ढकाल उमेशलाल श्रेष्ठ समूहका हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घाई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ ।

महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्था अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्नुहुनेछ।

महासङ्घको ५७औँ वार्षिक साधारण सभाले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महासङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो ।