काठमाडौँ। विवादित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो प्रकरणमा पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् ।
अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई बयान दिने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन्। समितिले मंगलबार सांसद श्रेष्ठसँग एकघण्टा सोधपुछ गरेको थियो। बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए ।
‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्,’ समिति स्रोतले बताएको छ।
यता, श्रेष्ठको अडियो प्रकरणबारे रास्वपाले आज बुधबार निर्णय गर्दैछ पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ।
अडियो प्रकरणबारे अन्तिम निर्णय गर्न रास्वपाले पार्टी कार्यालय बसुन्धरामा बस्नेगरी केन्द्रीय समिति बैठक डाकेको छ। आयोगले मंगलबार हिजो छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।