सरकार अब ‘रिजल्ट’ चाहिन्छ, एमाले र पूर्वराजालाई देखाएर हुँदैनः गगन थापा

काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्। संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्‍याए।

“जिम्मा हामीले लिने। संघको सरकार हामीले चलाउने। पाँच वर्ष देशको सरकार कसले चलाउने? कांग्रेसले चलाउने। प्रदेश र स्थानीय सरकार हामीले चलाउने,”उनले भने,“अब कसैलाई दोष पन्छाएर पाइन्नँ। परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ। त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौँ।”

काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे। पाँच वर्षपछि कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने उनले बताए।

“अब कसैलाई दोष दिएर पाइँदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्नँ। भूतपूर्व राजालाई भनेर पनि पाइन्नँ। अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाइन्नँ। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ,” उनले भने, “अबको पाँच वर्षपछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली कांग्रेसको तर्फबाट बोल्दै गर्दाखेरि यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त।”

महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरुलाई खुसी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो।

महामन्त्री थापाले संघीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे।