काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गर्नुभएको छ ।
बुधवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गर्नुभएको हो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताउनु भयो ।
सरकार खर्चमा मितव्ययी हुनुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताउनु भयो । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उहाँले बताउनु भयो ।
यस्तै, उहाँले देशको आर्थिक सङ्कट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि सम्वाद गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उहाँले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उहाँले बताउनु भयो । महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताउनु भयो ।
महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले सरकार अल्मल्लिएको भन्दै दौडिन सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आउँदो ५,६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न सुरु गर्यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताउनु भयो ।
महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाएर काम गरेर देखाउन आग्रह पनि गर्नुभयो ।