काठमाडौं।सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन्। मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन्।
उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए। अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन्।
मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो। हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।
१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो। जसमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।