उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै,बढी चर्चामा छन् यी क्षेत्र

काठमाडौं ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । आयोगको कार्यतालिकाअनुसार चैत २१ अर्थात भोली उम्मेदवारविरुद्ध उजुरी दर्ता, पर्सि चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा विवाद हुँदा सांसदबाट पदमुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।