रास्वपाले उपचुनावमा ३ वटै क्षेत्रमा एक्लै लड्ने

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो वैशाख १० गते हुन लागेको उपचुनावमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ।

पार्टीको आज शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनविना उम्मेदवारी दिने निर्णय भएको छ ।’

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२ मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिनुभएको हो ।

बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको उपसभापति अर्यालले बताउनुभयो ।