काठमाडौं। निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ। आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
१० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने गरी निर्वाचनको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। गत फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै,चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो।
संविधानअनुसार प्रतिनिधिसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। यस्तै, नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो।
आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ। आयोगका अनुसार तनहुँ–१ र बारा–२ को उपचुनावका लागि चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय दिइनेछ।
चैत १६ गते मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ। दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।