काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीहरुको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले एनआरएनएको गतिविधि र अभियानबारे आफु जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्टपति पौडेलको भनाई थियो। राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताए।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। राष्ट्रपति निवासमा शुक्रबार भएको भेटमा कार्यकारी अध्यक्ष थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै संघको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिन ।