उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव : गणित मास्टरदेखि उपराष्ट्रपतिसम्म

काठमाडौं। गणतन्त्र नेपालको चौथो कार्यकालका लागी तेस्रो उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव आज (शुक्रबार) निर्वाचित हुनुभएको छ । शुक्रबार (आज) भएको उपराष्ट्रपति निर्वाचनमा यादव ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहराले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गर्नुभयो ।

यादवको जन्म विसं २०२७ साउन ९ गते बुवा स्व. प्रसाद राय यादव र आमा स्व. सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको चुनावमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाउनुभएका उहाँ राजनीतिक जीवनअघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेसामा समर्पित हुनुहुन्थ्यो । बारा कलैयामा रहेको श्री पन्ना देवी कन्या माविमा उहाँ विज्ञान र गणित विषयको शिक्षक हुनुहुन्थ्यो ।भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गर्नुभएका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उहाँ उच्च शिक्षा लिई भारतको सीतामढीबाट बीएससी अध्ययन गरी फर्किँदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । त्यस समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

त्यस पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सद्भावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनशनमा बस्ने यादव पहिलो नेता हुनुहुन्छ ।राजनीतिका क्रममा उहाँको भेट उपेन्द्र यादवसँग भएपछि उहाँ २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध हुनुभएको हो ।

त्यसपछि उहाँ २०६४ सालमा पहिलो संविधान सभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने विसं २०६५ मा उहाँ पार्टी महासचिव हुनुभयो । यादव स्वच्छ तथा इमानदार छविका नेता मानिनुहुन्छ ।उहाँ विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य हुनुभएको थियो ।

विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री हुनुभएका उहाँ अहिले जनता समाजवादी पार्टीको संसदीय दलको नेताको भूमिकामा समेत हुनुहुन्छ ।पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले अहिलेसम्म संयुक्त राज्य अमेरिका, पोल्यान्ड, चीन, बेलायत, बेल्जियम, यूएईलगायत देशको भ्रमण गरिसक्नुभएको छ ।