काठमाडौं। यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो। नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनायो ।
यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए। अर्का ओपनर आसिफ खानले ८२ रन बनाए।त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए। भिमले ७ चौका प्रहार गरेका थिए।
आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए ।सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए । यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २र२ विकेट लिए। यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन्। पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।