काठमाडौं। प्रदेश १ सरकारले बल्ल प्रदेशको नाम टुंगो लगाएको छ । नेकपा एमालेले गरेको प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भएपछी प्रदेको नाम टुङ्गो लागेको हो ।
एमालेले आज बिहान संसद सचिवालयमा प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन् ।
प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ भने ६ जना अनुपस्थित रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने पहिचान र सामथ्र्यका आधारमा ‘किरात लिम्बुवान सगरमाथा’ नाम हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो । उक्त प्रस्ताव नै प्रदेशसभाले पारित नगरेपछि मत विभाजनको प्रक्रियामा गएन । प्रदेशसभामा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।
दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै लागेको छ ।