‘रवि लामिछानेको केसले हामीलाई झसङ्ग बनायो’ : अध्यक्ष डा. बद्री केसी

अमेरिका।
गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले अहिलेसम्म नागरिकता ऐन नआउनु दुःखद रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको ‘नागरिकता निरन्तरता र सम्पत्ति अधिकार’ विषयको वहसको तेस्रो श्रृंखलामा बोल्दै डा. केसिले एनआरएनएहरुको नागरिकता निरन्तरताको कुरा संघले सन् २००५ देखि नै अभियानको रुपमा लगातार लिएर आइरहे पनि समस्या समाधान गर्न नसकिएको बताएका छन्।

‘जब २०७२ को संविधान आयो, त्यो संविधानमा (गैर आवासीय नेपाली) नागरिकताको विषय पार्न सक्यौं । त्यो हाम्रो एउटा सफलता मान्नुपर्छ । तर सन् २०१५ मा संविधान बनिसकेपछि अहिलेसम्म नागरिकता ऐन नआउनु वास्तवमै दुःखको कुरा हो । नागरिकता भन्ने विषय नेपालको राजनीतिसँग पनि जोडिने र अन्य नागरिकतासँग पनि जोडिने भएको हुनाले समय लाग्नु स्वभाविकै हो,’ उनले भने ।

अध्यक्ष केसीले नागरिकता प्राप्तिपछि हाम्रो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार के हो भन्ने कुरोमा नागरिकता ऐनले मात्रै नपुग्ने बताए।

‘त्यसमा जोडिएका गैरआवासीय नेपालीहरुको अधिकारको कुराहरु उल्लेख गरेर विधेयक २०७७ सालमा आएको छ त्यो पनि अघि बढेको भने छैन । रवि लामिछानेको केसले हामीलाई झसङ्ग बनायो । हामीले रद्द भएको नागरिकता नेपालमा प्रयोग गरेर विभिन्न काम गरिरहेका छौं, अहिले सबै झसंग भए पनि संस्था यो कुरामा धेरै अगाडि देखि नै सचेत छ । यो समस्या हजारौं नेपालीलाई पर्न सक्छ भनेर हामी जानकार थियौं । त्यसैले हामीले एक पटक पुरानो कागजातलाई मान्यता दिएर समस्या समाधानका लागि पहल गर्नुपर्छ भनेका हौं । हामीले भने अनुसारको प्रस्तावित कानुन बनेको छ,’ उनले भने ।