एमालेको निर्णय : सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने

काठमाण्डौ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ।

बैठकपछि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनु भयो। उहाँले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनु भयो।

उहाँले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाउनु भयो। उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गर्नुभयो।

उहाँले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाउनु भयो। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ।

गत पुस १० मा एमालेसहित सात दलका सांसदले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर बहुमत जुटाएका थिए । त्यस बेला एमालेले माओवादीलाई सघाएबापत राष्ट्रपति एमालेले पाउने मौखिम सहमति भएको थियो । तर त्यो सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठ दलीय मोर्चा बनाउँदै राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गर्नुभएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।