नवनिर्वाचित गभर्नरलाई विधायक डा.भण्डारीको आग्रहः मेरिल्याण्डमा एशियन सेन्टर स्थापना गरौं

मेरिल्याण्ड
नेपालीमुलका अमेरिकी विधायक डा. हयारी भण्डारीले मेरिल्याणडमा एशियन अमेरिकन कम्युनिटी सेन्टर स्थापनाका लागि अनुरोध गरेका छन्।अमेरिकाको मेरिल्याण्ड राज्काका नवनिर्वाचित गभर्नर वेज मुरसँग शुक्रवारको भेटमा भण्डारीले यस्तो आग्रह गरेका हुन्।

मेरिल्याण्ड जनरल एसेम्वलीमा एएपिआई (एशियन अमेरिक प्यासिफिक आईल्याण्डर्स) ककसको अध्यक्ष समेत रहेका विधायक भण्डारीले सेन्टरले एशियन अमेरिकनका भाषागत समस्या, अवसरको खोजीका साथ साथै प्रजातन्त्रको मेरुदण्डको रुपमा नागरिकको सहभागिताले महत्वपूर्ण काम गर्न सक्ने विश्वास व्यक्त गरे।

गभर्नर मुरलाई सफल कार्यकालको शुभकामना दिदै भण्डारीले सेन्टरले एशियन अमेरिकीहरुको राजनीतिक सहभागितामा समेत काम गर्न सक्ने धारणा राखेका थिए। उनले सेन्टरले मेरिल्याण्ड राज्यको सामाजिक, आर्थिक,साँस्कृतिक लगायतको क्षेत्रमा योगदान गर्दे रोजगारीको अवसर सृजना गर्न सक्ने समेत बताए।

भण्डारीले आफनो सम्बोधनको क्रममा एशियन अमेरिकनको चासो र चुनौतीका वारेमा गभर्नर मुरलाई जानकारी गराएका थिए। विधायक भण्डारीले गभर्नर मुरलाई एशियन अमेरिकन मूलकी अरुणा मिलरलाई लुटिनेन्ट गभर्नरको रुपमा काम गर्न अवसर दिएकोमा एशियाली मूलका लाखौ अमेरिकी खुशी भएको समेत जानकारी गराए।

साथै गभर्नरको क्याविनेटमा तीन जना एशियाली मूलकालाई सेवा गर्ने अवसर दिएर गभर्नर मुरले विविधता र समावेशिताको अवसर प्रदान गरेको समेत भण्डारीले धारणा राखे।कार्यक्रममा गभर्नर मुरले एशियन अमेरिकनहरुको माग सम्बोधन र उनीहरुको सहभागिताको लागि आफूले सक्दो प्रयत्न गर्ने बचन दिए।

गभर्नर मुरले आफनो कार्यकालमा कसैलाई पनि पछाडि नपार्ने अवधारणा ल्याएकोले समावेशी सहभागितामा सदैव ध्यान दिने बताए।भारतीय मूलकी लुटिनेन्ट गभर्नर अरुणा मिलरले हरेक आप्रवासीको कथा आफनो कथा जस्तै भएको स्मरण गर्दै एएपिआईसँग मिलेर काम गर्ने बताइन।कार्यक्रममा मेरिल्याण्ड राज्यको जनरल एसेम्वलीका तल्लो र माथिल्लो सदनका विधायक,सिनटेरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यकारी अधिकार कार्यान्वयन गर्ने गभर्नरको कार्यालय र विधायिकी भूमिकामा रहेको जनरल एसेम्वलीको विभिन्न विषयमा सहकार्य गर्ने सम्वन्धमा समेत छलफल भएको थियो ।कार्यक्रम गभर्नर मुर र श्रीमति मुरले एएपिआई ककसको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतको लागि गभर्नरको निवासमा आयोजना गरिएको थियो ।