काठमाडौं। नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ। आज बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ।
हिजो साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।यस्तै प्रचण्ड अस्थिर बनेको,बाहृय दबाब थेग्न नसकेको र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लागेको एमालेको निष्कर्ष छ । एमालेले १० पुसमा बनेको सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।
यस्तै एमालेले आफ्नो उम्मेदवार नेम्वाङका लागि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाएको नेपाली कांग्रेस बाहेक सबै दलको समर्थन खोज्ने पनि बताएको छ ।१० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो ।
त्यो बेला राष्ट्रपति एमालेले लिने सहमति पनि भएको थियो ।तर माओवादीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी शुक्रबार बसेको ८ दलको गठबन्धनमा छन् । र, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।