कांग्रेसलाई राष्ट्रपति दिन आठ दल सहमत

काठमाडौं । नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्न ८ दल सहमत भएका छन्। आज (शुक्रबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा माओवाादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरुले यस्तो सहमती गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रस्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताउनुभयो । ८ दलमा सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी, र विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

उहाँले भन्नुभयो, ‘एउटा विषयमा मात्रै छलफल भयो । प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सहयोग गरौँ भनेर प्रस्ताव गर्नुभयो । त्यसमा आठ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई यस पटकको राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने टुंगो लागेको छ ।’बैठकमा उपस्थित नेपाली कांग्रेस सहितिका ८ दलहरुले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ ।