गोरखा ग्लोबल समाजको नेतृत्वमा गोर्कण ढकाल निर्विरोध चयन

गोरखा। विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था गोरखा ग्लोबल समाजको नयाँ नेतृत्व हङकङका गोर्कण ढकालको काँधमा परेको छ। गोरखास्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट गैरआवासीय नेपाली संघ एनआरएनए हङकङका अध्यक्ष समेत रहेका ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन्। अधिवेशनको उदघाटन नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले गरेका थिए।

यस्तै उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल अस्ट्रेलिया, कृष्ण भट्टराई कतार, आकाश बन्जरा हङकङ, वम बहादुर बम बेलायत,
कमला काप्री बेलायत र गणेश लामिछाने चयन भएका छन्।

यसैगरी जापान निवासी विराट खनाललाई महासचिवको जिम्मेवारी दिइएको छ भने सचिवमा बेल्जियमका मदन दवाडी र मलेसियाका प्रेम पाण्डे चयन भएका छन्।

यस्तै बेलायतका ज्ञानेन्द्र आले मगरले कोषाध्यक्षको र सहकोषाध्यक्ष जिम्मेवारी जर्मनीका सरोज अर्याल पाएका छन्।

त्यसैगरी युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ।

अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा
जयप्रकाश गुरुङ बेलायत, हरिहर अर्याल फ्रान्स र विनय अधिकारी बेलायत रहेका छन्।

कार्यसमिति सदस्य भने पदाधिकारीको बैठकले चयन गर्ने सहमति भएको छ।