२३ असोज, काठमाडौं । झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् ।
सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले झापा–५ छाडेपछि कांग्रेसबाट अधिकारीले पुनः ओलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन् ।
एमालेबाट ओली उम्मेदवार बन्ने निश्चित भएपनि कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम समयसम्म टुंग्याएको थिएन । कांग्रेसबाट ओलीसँग प्रतिस्पर्धा गर्न २०६४ सालमा उनलाई हराएका विश्वदीप लिङ्देनसहित कांग्रेस नेता पदम पौडेल र मेदनी सिटौला पनि आकांक्षी थिए ।
तर, अन्तिम समयमा कांग्रेसले २०७४ सालको चुनावमा पनि प्रतिस्पर्धा गरेका डा. अधिकारीलाई नै टिकट दिएको छ ।