महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउने सिफारिस प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको छ।
शनिबारको बैठकपछि समितिका सभापति राम विष्टले प्रतिवेदन बुझाएका हुन्। शनिबार अबेर साँझ समितिले चोलेन्द्रमाथि महाअभियोग सिफारिस गर्ने निर्णय गरेको हो।
समितिले चोलेन्द्र शमसेरविरूद्ध महाअभियोग लगाउनुपर्ने ९ आधार तथा कारणहरू प्रतिवेदनमा उल्लेख गरेको छ।
१। बादी नेपाल सरकार र प्रतिवादी रमनकृष्ण रञ्जन कोइराला भएको कर्तव्य ज्यान मुद्दामा सजाय घटाइ कानुनको गम्भीर रूपमा उल्लंघन गरेको।
२। संवैधानिक नियुक्ति सम्बन्धी मुद्दालाई सुनुवाइ प्रकियामा नलगी न्यायाधीशले पालना गर्नुपर्ने आचार संहिताको गम्भीर उल्लंघन गरेको।
३। संसद विघटन सम्बन्धी मुद्दामा संलग्न पाँच जना न्यायाधीसलाई महाभियोग लगाइदिन भनी निजले समितिमा बयानका क्रममा भनेको देखिँदा न्यायापालिकाले स्वतन्त्रतापूर्वक गर्नुपर्ने काम नगरी कार्यकारिणीका मानिससँग सल्लाह गर्ने गरेको पुष्टि भई निष्पक्ष रूपमा कार्य सम्पादन गर्ने कार्य क्षमताको अभाव रहेको देखिएको।
४। सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सर्वोच्च अदालत भवन निर्माण सम्बन्धी ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी कानुनको गम्भीर उल्लंघन गरेको।
५। संवैधानिक नियुक्ति सम्बन्धी बैठकमा निष्पक्ष भूमिका खेल्न नसकेको।
६। कानुन व्यवसायी, पक्ष लगायतका न्यायका उपभोक्ताले अदालत प्रति विश्वास हुन नसक्ने वातावरण बनाइ न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न चिह्न खडा भएको।
७। कृष्णमान विरूद्ध हंसमान सिंहको मुद्दा, प्रेरणा शाहको मुद्दा, वीरगञ्जको सार्वजनिक पोखरी सम्बन्धी मुद्दा, क्यासिनोको सञ्चालन तथा राजश्व सम्बन्धी मुद्दा, एनसेलको कर छलीको मुद्दा लगायतमा कानुनको व्याख्यामा गम्भीर त्रुटि गरेको देखिएको।
८। निज प्रधानन्यायाधीस नियुक्ति हुनु पूर्व भएको संसदीय सुनुवाइमा गरेका प्रतिबद्धता पूरा गर्न नसकी पदीय जिम्मेवारी र कर्तव्य पूरा गर्न नसकेको।
९। न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिमको कर्तव्य पूरा गर्न नसकेको।