काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि बालेन शाहले आफ्नो पहिलो निर्णयमा महानगरको कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गर्दै आइतबार कार्यान्वयन समेत गरेका छन् ।
महानगरको कार्यपालिकाको पहिलो बैठक, लोकप्रिय बालेनको मेयरको रुपमा पहिलो बैठक र त्यो पनि प्रत्यक्ष प्रशारण गरिएको बैठक भएकाले धेरैले यो बैठकलाई हेरेका थिए । बैठकमा देखिएका केहि दृश्यले आगामी दिनमा ‘बालेन भर्सेज वडाअध्यक्षहरु’ हुने संकेत देखिएको छ । पहिलो बैठकमा उपमेयरको भूमिका खासै देखिएन । कानुनीरुपमा उपमेयरको भूमिका खासै नहुने भएपनि उपमेयर सुनिता डंगोलले बैठकमा कुनै विषयमा अग्रसरता लिएर बोलेको र आफ्नो कुरा राखेको देख्न सकिएन।
बैठकमा मेयरको रुपमा बालेन शाहले आफ्ना एजेण्डा प्रस्तुत गर्ने र त्यसलाई निर्णय गराउने प्रयास त गरे तर बैठकको प्रक्रिया र एजेण्डा सेटिंगमा भने वडाअध्यक्षहरुले सांकेतिक रुपमा आगामी दिनमा थप तयारी गरेर आउन चुनौती दिए ।
वडाअध्यक्षहरुले बैठकमा एजेण्डा राख्दा त्यसअघि नै आफुहरुलाई जानकारी गराउनुपर्ने र कार्यपालिकाहरुमा पारित भएका एजेण्डाहरु कार्यान्वयन हुनुपर्ने विचार राखे ।
अर्को पक्ष, वडाअध्यक्ष र मेयर बालेनले गर्ने काममा ठुलो अन्तर आउने देखिएको छ ।
धेरै जसो वडाअध्यक्षहरुले मेयरले राखेको प्रस्ताव नै नबुझेको देखियो । जस्तो महानगरबासीका गुनासा सुन्न कल सेन्टर खोल्ने बालेनको प्रस्तावमाथि टिप्पणी गर्दै एक वडा अध्यक्षले आफ्नो वडामा बादरको बिगबिगी भएको र सिसिटिभी राख्दा बाँदरले फुटाइदिने तथा तार जोडेर गरिने काम गर्न नसकिने बताए । उनले कल सेन्टर भनेकै बुझेनन्, जसलाई बालेनले पछि बुझाएका थिए ।
त्यस्तै, अर्का वडाअध्यक्षले सार्बजनिक शौचालय सम्बन्धि प्रस्ताव नै बुझेनन् । हाल चलिरहेका रेस्टुरेन्टको शौचालयलाई सार्बजनिक शौचालयमा परिणत गर्ने मेयरको प्रस्तावमाथि टिप्पणी गर्दै एक वडा अध्यक्षले सार्बजनिक शौचालयलाई व्यापारिक स्थल बनाउन नहुने बताए । उनले नबुझेको देखेपछि बालेनले उनलाई पनि बुझाउनु परेको थियो ।
अर्को दृश्यमा महानगरका कार्यकारी प्रमुखले प्रस्ताव पारित भएको भन्दै पढेर सुनाएपछि वडाअध्यक्षहरुले त्यसको विरोध गरे । छलफल नै नगरी कर्मचारीले प्रस्ताव पारित भएको घोषणा गर्नु सहि नभएको भन्दै सो प्रस्ताव फिर्ता लिन आग्रह गरे । पछि कार्यकारी अधिकृतको सो प्रस्तावलाई बालेनले फिर्ता लिदै अहिले नै निर्णय नभएको बताउनु परेको थियो ।
यसरी पहिलो दिनको बैठकको विश्लेषण गर्दा महानगरमा मेयर र वडाअध्यक्षको वेभलेन्थ नमिल्ने त प्रष्ट नै देखिन्छ । आउदा दिनमा काठमाडौँ महानगरमा मेयर एकातर्फ कुदिरहने र वडा अध्यक्षहरु अर्कोतर्फ हुने संकेत देखा परेको छ । यसलाई मेयरले जति छिटो बुझेर समाधान गर्छन् आउने दिनहरुमा उनलाई नै आफ्ना कार्यक्रम ल्याउन र कार्यन्वयन गर्न सजिलो हुने देखिन्छ ।