तारा एयरको विमान दुर्घटनामा चार जना एकै परिवारका भारतीयको मृत्यु भएको छ । भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जनाको पनि अन्तिम यात्रा बनेको छ ।
विमान दुर्घटनामा परेका एकै परिवारका चार जनामा अशोक त्रिपाठी (५४), उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी (५१), छोरा धनुष त्रिपाठी (२२) र छोरी ऋतिका त्रिपाठी (१८) रहका छन् ।
मुक्तिनाथ दर्शनका लागि हिडेका उनीहरु डिभोर्सअघि परिवार सँगै घुम्न निस्किएको भारतीय मिडियाहरुले खुलासा गरेका छन् ।
अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुवैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । दुवै छोराछोरी वैभवीसँगै बस्थे । त्यसैले अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन आदेश दिएको थियो । यसै क्रममा चारैजना नेपाल आएको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्ट अनुसार अशोकसँगै उनका एक जना काका पनि जान लागेका थिए तर उनले अन्तिम समयमा योजना परिवर्तन गरेका थिए ।
अशोल उडिसामा एक एचआर कन्सल्टेन्सी चलाउने गर्दथे भने वैभवी मुम्बईको बान्द्रा(कुर्ला) कम्प्लेक्समा रहेको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्ने गरेको उल्लेख गरिएको छ ।
आइतबार बिहान जोमसोमको लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला परेको हो ।
अहिलेसम्म विमानमा रहेका २२ जना मध्ये १६ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।