गंकी धुस्वा बसुन्धरा प्रतिष्ठानद्वारा कार्की र डंगोललाई पुरस्कार प्रदान

गंकी धुस्वा बसुन्धरा प्रतिष्ठानद्वारा कलाकारीताको माध्यमबाट पुर्याएको योगदानका लागि २०७८ सालको गंकी धुस्वा बसुन्धरा पुरस्कार ‘द्रौपदी अवशेष’उपन्यासका लागि नीलम कार्की निहारिका र धुस्वां सायमि सिर्जना पुस्कारबाट कलाकार गोबिन्दलाल सिं डंगोललाई प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक समारोहका बीच पुरस्कार प्रदान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष डा.अरुण सायमिको सभापतित्वमा सपन्न भएको उक्त समारोहलाई प्रतिष्ठानका सचिव प्रतिसरा सायमिले संचालन गर्नुभएको थियो । पुरस्कृत उपन्यासकार निहारिका र कलाकार डंगोलका बारेमा क्रमशः विमल भौकाजी र सुरेश किरणले बोल्नुभएको थियो ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कार राशी जनही ५० हजार रुपैँया र ताम्रपत्र रहेको छ । स्वागत मन्तव्य राख्दै डा. अरुण सायमिले समाजमा साहित्यकारको महत्वपूर्ण भूमिका रहेने बताउदै त्यो भूमिकाको कदर गर्दै आफ्ना पिता धुस्वां सायमको प्रथम उपन्यास गंकीको नाममा स्व. आमा बसुन्धराको नाम जोडेर यो पुरस्कार स्थापना गरेको र पछि पिताको निधानपश्चात् उहाँको नामसमेत यो पुरस्कारमा आफूहरूले जोडेको कुरा बताउनुभयो ।

कलाकार गोबिन्दलाल सि डंगोलले सत्तरी वर्ष नाघ्दासम्म आफू र आफूजस्ता कलाकारलाई राज्यबाट कुनै सम्मान प्रदान नभएकोमा दुखेसो व्यक्त गर्नुभयो ।

पुरस्कृत नीलम कार्की निहारिकाले प्रकृति सुन्दरता र संस्कृतिगत विविधता हाम्रो देशका निधिहरू हुन् तर, आफ्नै देशभित्र पनि एक समुदायको संस्कृतिबारे अर्को समुदाय पूर्ण रूपमा जानकार नभएको हुँदा साहित्य–कलाको माध्यमबाट संस्कृति आदानप्रदान र अर्को पुस्तामा सुरक्षित हस्तान्तरण हुन् जरुरी रहेको बताउनुभयो ।

२०७४ का लागि नीलम कार्की निहारिकाको उपन्यास योगमायाले मदन पुरस्कार प्राप्त गरेको थियो । ऐतिहासिक विषयवस्तुमा खोज, अनुसन्धान गरेर लेखिएको योगमायाले प्रतिष्ठित पुरस्कार पाएको हो । यसअघि नीलमका हवन (कथा–संग्रह), ब्रेन फिभर (कविता–संग्रह), कागजमा दस्तखत ९कथा–संग्रह०, नीलम कार्की निहारिका का कविता (कविता–संग्रह), बेली (कथा–संग्रह), अर्की आईमाई (उपन्यास) बजारमा आइसकेका छन् ।

मदन पुरस्कार पाउने कार्की चौथी महिला साहित्यकार हुन्।