हेटौँडाकी पहिलो महिला मेयर मीना कुमारी लामा

हेटौँडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छिन् ।

बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौँडामा लामा पहिलो महिला मेयर बनेकी हुन् । कुल ७३ हजार ४१४ भोट खसेको हेटौँडामा लामाले २३ हजार ७५ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल २० हजार ९०८ मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे ।

नेकपा एमालेले निरन्तर जित हासिल गरेको हेटौँडामा मेयर जित्न लामालाई त्यति सहज देखिएको थिएन। एमालेको लालकिल्ला रहेको हेटौँडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिएकी थिइन् । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौँडा उपमहानगरको उपमेयरमा विजयी भएकी थिइन् ।

नेकपा एमालेको विभाजन पछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लागेकी थिइन् । एक कार्यकाल उपमेयर भएर काम गरेकी लामा जिल्लाको पहिलो मेयर भएर इतिहास रचेकी हुन् । लामा आफ्नो पार्टीभित्रकै चरम असन्तुष्टिबीच चुनावी मैदानमा होमिएकी थिइन् । नाम सिफारिस भए पनि टिकट नपाएपछि तत्कालीन नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका थिए ।

कांग्रेसका रुष्ट नेता तथा कार्यकतालाई लामाले आफ्नो पक्षमा मतदान गर्ने वातावरण सिर्जना गरिन् । विशेष गरी तामाङ बाहुल्य बसोबास रहेको हेटौंडा १२, १३ बाट ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने वातावरण उनले आफ्नो अगुवाईमा तयार पारिन् । एमालेको गढ मानिएको हेटौंडा ७, ८, ९ बाट पनि लामाले राम्रै मत प्राप्त गरिन् । करिब ४ हजार मत गणना बाँकी रहँदै एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर लामालाई बधाई दिएका थिए । लामाले २०४६ सालमा विद्यार्थी जीवनबाट नै राजनीतिमा यात्रा सुरु गरेकी थिईन् । २०५२ मा अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष भई उनले काम गरेकि थिईन् ।

लामा २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव र २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य बनेकी थिइन् ।