काठमाडौं महानगरपालिकाको मेयर पदमा अग्रता कायम राख्दै बालेन

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

मतगणनाको सुरूदेखि नै अग्रता लिएका उनले अहिले १० हजार बढी मतान्तर बनाइसकेका छन्।

५४ हजार ४ सय ६६ मत गणना हुँदा शाहले २१ हजार २२९ मत पाए। उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छन्। स्थापितसँगको शाहको मतान्तर १० हजार ३ सय ६७ छ ।

वडा नम्बर १, २, ३ र ५ को मत गणना भइसकेको छ। वडा नम्बर १ मा शाहले ७८३ मत पाउँदा स्थापितले ३६५ र सिंहले ४५१ मत पाएका थिए। वडा नम्बर २ मा शाहले १२१५, स्थापितले ७२८ र सिंहले ४९७ मत पाएका थिए। यस्तै वडा नम्बर ३ मा शाहले २४०६ मत पाउँदा स्थापितले १२०३ र सिंहले ११७० मत पाएका थिए। त्यस्तै, वडा नम्बर ५ मा भने शाहले १५०१ मत पाउँदा स्थापितले १०६६ मत र सिंहले ७२७ मत पाएका थिए।

अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अहिले भएका सबै वडामा शाहले अग्रता कायमै राखेका छन्।