५२७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कति पालिका जिते?

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ५२७ स्थानीय तहको अन्तिम नजिता आएको छ ।

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका ५२७ स्थानीय तहमध्ये २३८ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म १४७ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले १०२ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगले जानकारी दिएको छ ।

हालसम्म जनता समाजवादी पार्टी नेपालले १२, नेकपा (एकीकृत समाजवादी)ले ४ र अन्यले २४ पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।

हाल भएको मतगणना अनुसार नेपाली काँग्रेस ६८ पालिका प्रमुख/अध्यक्ष मा अगाडी छ भने एमाले ५५ पालिकामा अगाडी रहेको छ ।

त्यस्तै, माओवादी केन्द्र १७ पालिकामा अगाडी छ भने एकीकृत समाजवादी र जसपा ७-७, स्वतन्त्रसहित अन्य ३६ पालिकामा अगाडी रहेका छन् ।

यस्तै, हालसम्म अन्तिम नजिजा आएका ५२७ पालिकाको उपप्रमुख/उपाध्यक्ष मध्ये कांग्रेसले २२३ जितेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, एमालेले १५६ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १०८ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यसैगरी जसपाले ११, एकीकृत समाजवादीले ६ र अन्यले २४ उपप्रमुख/उपाध्यक्ष जितेका छन् ।