श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन्।
७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।
उनको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन् । उनको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपति कार्यालयले जनाएको छ ।
गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन्। त्यहाँ महँगी अत्यिधक बढेको छ र विद्युत् आपूर्तिमा कटौती भएको छ।
दुई करोडभन्दा बढी जनसङ्ख्या भएको यस टापु राष्ट्रले, सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।