अनिल परियारको हत्या व्यक्तिगत रिसिइवीका कारण

चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताइएको छ । घटना व्यक्तिगत ‘रिसिइवी’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको अनुसन्धान प्रहरीले गरिरहेको र घटनाबारे विस्तृत विवरण आउन अनुसन्धान सकिनुपर्ने भएपनि व्यक्तिगत रिसिइवीले घटना भएको देखिन्छ । घटना निर्वाचनसँग सम्बन्धित छैन, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले बताए ।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।

आइतबार साँझ करिब ७:३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।