उम्मेद्वारी फिर्ता नलिने जगन्नाथको अठोट

सत्ता गठबन्धन चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेलले उम्मेद्वारी फिर्ता नलिएकोमा दुखी छन् ।

सत्ता साझेदार मध्यका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुरमा मेयरकी उम्मेदवार हुन् ।
उनको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेललले बागी उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू उनलाई उम्मेदवारी फिर्ता गराउन लागि परेका छन् । उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न अस्वीकार गरेका छन् ।

भरतपुरस्थित होटल सिरागचुलीमा जगन्नाथको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भने भेटघाट भएको थियो ।

भेटको क्रममा आफूहरूले पुरानै अडान राखेको जगन्नाथले बताए । ‘हामीले पुरानै अडान राख्यौं । यदि मैले पछि हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ,’ रामचन्द्रसँगको भेटबारे जगन्नाथले भने, ‘त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन ।’

रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुपर्‍यो भनेका थिए । तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर आफू चुनावी अभियानका लागि निस्किएको जगन्नाथको भनाइ छ ।
चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उनलाई फकाउने रामचन्द्र पहिलो नेता भने होइनन् ।

यसअघि गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रेणुलाई सहयोग गरेको भन्दै यसपटकको निर्वाचनमा कांग्रेसलाई माओवादीले सघाउनु पर्ने कांग्रेस चितवनका नेता कार्यकर्ताको माग थियो । तर, प्रचण्डले सत्ता गठबन्धन बैठकमा चितवन आफूले जित्न सजिलो हुने बताउँदै मेयर आफ्नो भागमा लिएर रेणुलाई मेयरमा उठाएका थिए । तर, कांग्रेसको तर्फबाट जगन्नाथ बागी उठेका हुन् ।