संचारकर्मी किशोर पन्थीद्वारा लिखित “जिरो माइल” सार्वजनिक

न्यू योर्क निवासी संचारकर्मी किशोर पन्थीद्वारा लिखित पुस्तक “जिरो माइल” प्रकाशित भएको छ।

पत्रकार पन्थीका भान्जा आशिष खनालको स्मृतिमा आयोजित कार्यक्रममा ‘जिरो माइल’को विमोचन गरिनुका साथै अल्पायुमै निधन भएका २६ वर्षीय उनका भान्जा आषिस खनालको नाममा ‘आशिष फाउण्डेसन’को उद्घाटनसमेत गरिएको थियो ।

जिरो माइलमा संचारकर्मी पन्थीले खसोखासमा रिपोर्टिंग गरेका दर्जनौं चर्चित रिपोर्तोज समावेश गरेका छन्। यो कृतिमा नेपालबाट अमेरिका आउनु अघि र अमेरिका आईसकेपछि जान्नै पर्ने टिप्सहरू पनि समेटिएका छन्।

‘यो आप्रवासी र जिज्ञासुहरूका लागि लेखिएको पुस्तक हो, जटिल अमेरिकी आप्रवासन नियम र नियमहरू सरल भाषामा प्रस्तुत गरिएको छ’ विमोचनपछि पत्रकार पन्थीले भने । अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने पनि लेखक पन्थीले बताएका छन् ।

अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेको र अमेरिकाबाट आप्रवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उनले बताए । यसअघि पन्थीको पहिलो पुस्तक कम्पन बजारमा आईसकेको छ ।

लेखक पन्थी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिका विषयमा कलम चलाउँछन् । अमेरिकी राज्य विभागद्वारा पहिलो मान्यता प्राप्त नेपाली पत्रकारका रुपमा उनले राष्ट्रपति लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्राप्त गरेका छन् ।