सान फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ भव्य रुपमा सम्पन्न (फोटो फिचर)

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका अन्तरर्गतको पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा तर्जुमा गरेको बहुप्रतिक्षित ‘नेपाल डे परेड’ भव्य रुपमा सम्पन्न भएको छ।

सैयौँको सँख्यामा नेपाली भेष भुषा, झाँकी, अमेरिका र नेपालका सयौँ झन्डा फरफराउँदै नेपालको पहिचान झल्काउने र पर्यटनलाई प्रवर्धन गर्ने खालका बिभिन्न प्लेकार्ड तथा तस्वीरहरु परेडमा समावेश गरिएको थियो। सडकमा नेपाली पन्चेबाजा, लाखे नाचका साथै बिभिन्न जतजातिका आफ्नै बाजा गाजा सहितको दृश्य देखेर सान प्रान्सिस्कोवासीहरु अचम्मीत देखिन्थे ।

सो अवसरमा बिभिन्न वक्ताहरुले यस प्रकारका कार्यक्रमले नेपाली पहिचान झल्काउन र पर्यटन प्रवर्धन गर्न अहम भूमिका खेल्ने बताएका छन्। नेपालीहरुको एकता र सहकार्यको कारणले नै कार्यक्रम सफल भएको सहभागी संस्था सवन्वय समितिका सभापति उत्तम कार्किले बताउनुभयो।

कार्यक्रम सँयोजक तथा एनआरएनए एनसीसी युएसए आरसीसी वेस्ट श्रीराम थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण लाई हार्दिक धन्यवाद दिनु भएको छ भने च्याप्टर प्रेसिडेन्ट एक देव शर्माले होस्ट च्याप्टरको रुपमा क्यालिफोर्निया च्याप्टरले कार्यक्रम सफल पार्न खेलेको भूमिका प्रसंसनीय भएको बताउनुभएको छ ।

कार्यक्रमको लागि नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा, पर्यटन सँस्कृती तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आले लगायतले शुभकामना दिएका थिए ।

मूल आयोजक समितिको नेपालमा प्रतिनिधित्व गर्दै सहआयोजक नेपाल विश्व सहयोग संघ (एनएजीसी) का संस्थापक अधक्ष मणी नेपाली पनेरुले काठमान्डौंमा पत्रकार सम्मेलन गर्दै परेड बारे प्रचार प्रसार गर्नुभएको थियो।

परेड ऐतीहासिक, मनोरन्जक र फलदायी भएको सहभागीहरुले बताएका छन् । परेडपछि विविध साँस्कृतिक कार्यक्रम सहित “नेपाल डे परेड २०२२” सम्पन्न भएको छ।