समर्थकको मोबाइल फुटाएपछि माफी मागे रोनाल्डोले

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक फ्यानको फोन फुटाएको भिडियो सार्वजनिक भएपछि माफी मागेका छन् ।

एभर्टनसँग शनिबार १-० को हारपछि मैदान छोड्ने क्रममा रोनाल्डोको तस्वीर खिचिरहेका एक फ्यानको मोबाइल रोनाल्डोले खसालीदिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

सो घटना सार्वजनिक भएपछि ३७ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

उनले ईन्स्टाग्राममा लेखेका छन्,”हामीले सामना गरिरहेको जस्तो कठिन क्षणहरूमा भावनाहरूसँग व्यवहार गर्न कहिल्यै सजिलो हुँदैन । यद्यपि, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि उदाहरण सेट गर्नुपर्छ । म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र, यदि सम्भव छ भने, म ति समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु ।”

एभर्टनसँगको हारपछि अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने युनाइटेडको आशामा धक्का पुगेको छ ।