निर्वाचन आचारसंहिता आजबाट लागू, प्रचारप्रसारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न नपाइने

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ ।

आयोगको आज बसेको बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धि आचारसंहिता शुक्रबारदेखि नै लागु हुने गरि निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित यसअघि नै भइसकेको छ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुने आयोगले जनाएको छ । एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नपाइने व्यवस्था गरिएको छ ।

सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइनेछैन् । जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइनेछ ।

निर्वाचन प्रसार प्रचारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्न समेत पाइनेछैन ।

निर्वाचन प्रचार प्रसारका लागि विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने आयोगको आचारसंहितामा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले पालना गर्नुपर्ने आचरणबारे पनि निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको छ । जसमा सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुनेदेखि अन्य विषय समेटिएको छ ।

कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामाग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।