निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हुन् । उनले सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिए ।
त्यस्तै, स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उनको भनाई छ ।
उनले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गरे ।