एनआरएनएको १०औ विश्व सम्मेलन सम्पन्न: डा. केसी सहित तीन जनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

गैर आवासिय नेपाली संघको नँया नेतृत्व चयन भएको छ । संघको अध्यक्षमा रविना थापा, कुल आचार्य र डा. बद्री केसी निर्वाचित भएका छन् ।

तीन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकालमा पहिलो र अन्तिम बैठकको अध्यक्षता तीन वटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा महेश श्रेष्ठ, हेमराज शर्मा, आरके शर्मा, डिबी क्षेत्री, रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द), नारायण आचार्य, नरेन्द्र भाट, धर्मराज अधिकारी, भुषण घिमिरे, दुर्गा आचार्य र जयप्रकाश गुरुङ चयन भएका छन् भने महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।

महासचिवमा डा. केशव पौडेल र गौरीराज जोशी, उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा प्रबिन गुरुंग, खगेन्द्र न्यौपाने, चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिनी पोखरेल र टिका गुरुङ चयन भए ।

कोषाध्यक्षमा लोक दाहाल,सुनील शाह र फणिन्द्रमणि पोखरेल चयन भए भने सहकोषाध्यक्षमा दिपक शर्मा, होमनाथ शर्मा, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् । युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठ्ठा चयन भए । प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन् ।

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १०, कोषाध्यक्ष ३, सह–कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष–३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ । त्यस्तै महिला संयोजक २, युवा संयोजक २, क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ । क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ । संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या ९५ जनाको हुनेछ ।

करिब ६ महिनादेखि चल्दै आएको विवादका कारण दशौं महाधिवेशन तथा निर्वाचन गर्न नसकिरहेको एनआरएनएले अन्ततः सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो ।