मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट, (एमसिसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्ष नेताहरूसमेत सहभागी उक्त छलफलमा संसदको अवरोध हटाउने र एमसीसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताए । एमसीसी सदनमा गहन रूपले छलफल भएर निष्कर्षमा पुग्ने उनले बताए । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद सुचारु भई एमसीसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उनले समयसीमाभित्रै एमसीसी पारित हुने विश्वास व्यक्त गरे । मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसदले नै टुङ्ग्याउने उनले बताए ।
त्यस्तै कांग्रेसका महामन्त्री गगनकुमार थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसीसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिएको बताए । उनले एमसीसी देशको विषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनलाई सुचारु गर्न एमालेसँग आग्रह गरिएको बताए । उनले एमसीसी प्रकरणमा पाँच दलीय गठबन्धनको औचित्य सकिएको तर्क गरे ।
दलीय सहमतिका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच पुनः छलफल हुने नेता थापाले जानकारी दिए । बिहीबार १ बजे बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् ।