गगन थापाले कसलाई लगाए दोहोरो चरित्र भएको आरोप ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका विषयमा डबल स्ट्यान्डर्ड प्रवृत्ति छाड्न सुझाव दिएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने पार्टीहरूलाई आफनो दोहोरो चरित्र छाड्न सुझाव दिएका हुन् ।

उनले संसदमा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरे । एमसीसीका विषयमा देव गुरुङ र झलनाथ खनालले विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसी पेश गर्ने बेला सदनमा सहभागी हुनु सकरात्मक भएको थापाले बताए ।

त्यस्तै एमाले नेता भीम रावलले सहमति नगरी राष्ट्रहित विपरितको एमसीसीलाई अघि बढाउनु नेपालको स्वाधिनतामाथिको बज्रपात भएको टिप्पणी गरे ।

नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमार झाँक्रीले सदनमा एमसीसीका विषयमा आवश्यक संशोधन हुनसक्ने बताए । एमसीसी पेश भएकै कारण आफ्नो पार्टी नफुट्ने उनको दाबी छ ।

संसदमा एमसीसी पेश भएपछि नेता झलनाथ खनालले विरोध जनाएका थिए ।