एमसीसी टेबल हुँदै गर्दा तातियो संसदको माहोल, सत्तारुढ दलका सांसद समेत देखिए रुष्ट

सत्तारुढ दलकै सांसदको विरोधका बीच अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टलाई सरकारले सदनमा टेबल गराएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डाक्टर जनार्दन शर्मा उपस्थित नभएपछि उक्त प्रस्तावलाई सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गराएका हुन् । कार्की एमसीए कम्प्याक्टमा नेपालका तर्फबाट हस्ताक्षरकर्ता समेत हुन् ।

कार्कीले प्रतिनिधिसभाको बैठकमा प्रस्ताव टेबल गर्दैगर्दा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद सँगसँगै सत्तारुढ दलका सांसदहरुले समेत उठेर नाराबाजी गरेका थिए । एमसीसी सम्झौता सदनमा टेबल गर्दै सञ्चारमन्त्री कार्कीले सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने बताए । एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताए ।

त्यसअघि बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसिसी सम्झौता टेबुल गर्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको बताए । संसद अवरुद्ध भइरहेको अवस्थामा संसदमा महत्वपूर्ण विषयमाथि छलफल हुन नसक्ने र एमसीसीका राष्ट्रिय हित विपरीतका प्रावधान संशोधन गरेर मात्र सहमतिका आधारमा अगाडि बढाउनपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले बताए ।

त्यस्तै नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले नेपालको संविधान र कानूनमाथि आघात पर्ने एमसीसी सम्झौताको केही प्रावधानका बारेमा राजनीतिक दलका बीचमा सहमति नभइ कसरी टेबुल भयो भनी प्रश्न गरे ।

सञ्चारमन्त्री कार्कीले सम्झौता टेबल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।