गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पदाधिकारीको निर्वाचनको लागि मतदाता नामावलीलाई अन्तिम रुप दिएका छन् ।
विगत करिब ६ महिना लामो विवादको अन्त्य गर्दै पन्तले आइतवार संघको निर्वाचन समितिलाई ३६३४ जनाको नामावली निर्वाचन समितिका संयोजक भिमसेन बन्जारालाई हस्तान्तरण गरेका हुन् ।
गत अक्टोवरमा तय गरिएको संघको १० औं महाधिवेशन तथा निर्वाचन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारणले रोकिएको थियो ।
गैरआवासीय संघका महासचिव डा. हेम राज शर्माले मतदाता नामवली निर्वाचन समितिमा गएको मिडियाबाट थाह पाएको बताए । उनले निर्वाचनको अर्को विकल्प नभएको बताउदै सबै महाधिवेशन प्रतिनिधिहरुलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको क्षेत्रीय पदाधिकारी सहित ५२ पदको लागि निर्वाचन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ
अध्यक्षका प्रत्यासी डा. केसीले निर्वाचन प्रकृयाअघि बढेको प्रति प्रसन्ता व्यक्त गरेका छन् ।
‘अध्यक्ष ज्यूले नामावली पठाउनु भयो भन्ने सुनेको छु तर हेर्न पाएको छैन्, उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनका आधारमा प्रतिनिधि छनोट भएको विश्वास लिएको छु’ डा. केसीले बताए । उनले विधानविपरीत सिफारीश भएका एक जना प्रतिनिधि पनि आफुलाई मान्य नहुने बताए ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले संघको निर्वाचनमा महमतिको बाटो खुलेको प्रतिक्रिया दिएका छन् । उनले ‘लोभिपापीले उचालेर लडाउन भिडाउन सक्ने आसंका व्यक्त गर्दै महमतिको पहल थाल्न आग्रह गरेका छन् ।’
News कुमार पन्तले बुझाए अन्तिम नामावली: कुल मतदाता ३६३४




