न्यूयोर्कको ज्याक्सन हाइट्समा राइज ग्लोबल, एकै स्थानमा यति धेरै सेवासुविधा

एसियन अमेरिकन समुदायलाई लक्षित गरी राइज ग्लोबलले गत आइतबारबाट आफ्नो सेवा शुरु गरेको छ । विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्क शहरको ज्याक्सन हाइटस्बाट राइज ग्लोबलले सेवा शुरु गरेको हो । नेपाली तथा एसियन मूलका मानिसको बाहुल्य रहेको क्षेत्र मानिने ज्याक्सन हाइटस्मा आइतबार एक कार्यक्रमको आयोजना गरी कम्पनीको उदघाटन गरिएको थियो ।

ट्याक्स फाइलिंग, बिमा, रियल स्टेट, नोटरी पब्लिक, भाषा अनुवाद लगायतका अत्यावश्यक सेवा एउटै थलोबाट दिन सकिने गरी संस्था शुरु गरिएको राइज ग्लोबलका प्रमुख कार्यकारी विजय ज्ञवालीले जानकारी दिए । “सस्तो शुल्कमा गुणस्तरीय सेवा एकै थलोबाट दिने हाम्रो मूल लक्ष्य हो,” उनले भने । राइज ग्लोबलले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने सेवासुविधाका लागि फर्म भरिदिने काम पनि गर्दछ ।

न्यूयोर्कका करिब १०० सामुदायिक अगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा स्थानीय व्यवसायी तथा समाजसेवीहरुले एउटै स्थानबाट विभिन्न सेवा दिने राइज ग्लोबलको प्रयासको प्रशंसा गरेका थिए । सो अवसरमा कम्पनीका निर्दशकद्वय केशवराम राई र श्याम कार्कीले राइज ग्लोबलको भिजन मिसनका बारेमा जानकारी दिएका थिए ।