अनेरास्ववियूको ध्यानाकर्षण पत्र: स्थानीय तहको निर्वाचन यथाशीघ्र गर!

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

बिहीबार अनेरास्ववियूकी अध्यक्ष सुनीता बराल नेतृत्वको टोली प्रदर्शनसहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो । अनेरास्ववियूकी अध्यक्ष बरालले निर्वाचन आयोगले निर्वाचन गर्न गरेको आह्वान पत्रसमेत संलग्न गरेर स्थानीय तहको निर्वाचन गर्न ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिइन् । आयोगले दिएको मितिमा नै निर्वाचन गरेर स्थानीय तहमा हुन सक्ने जटिलतालाई रोक्नुपर्ने उनको भनाइ छ ।

आयोगले जेष्ठ चार गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगको मितिमा निर्वाचन गर्न सकारात्मक देखिएपनि सरकारले भने अझै मिति तोकेको छैन ।